कपिलवस्तु, १६ असार । शुद्धोधन गाउँपालिकाको हालसम्मको ठूलो गौरवको आयोजना बेती खोला पुल निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाको आफ्नै बजेटले निर्मित पुलको गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले उद्घाटन गरेका छन् ।
निर्वाचित भएको पहिलो वर्षबाट योजनामा समावेश गरिएको पुलको काम सम्पन्न गरि उद्घाटन गरिएको हो । २० मिटर लम्वाई रहेको पुल निर्माणको लागत ६ करोड ८० लाख रहेको छ ।
पुल गाउँपालिकाको वडा नं २ मदरगढ र वडा नं ६ महादेवलाई जोडेको छ । पुल निर्माणसँगै वाणगंगा नगरपालिकादेखि भारतको सीमासम्म जनतालाई आवतजावतमा सहजता भएको अध्यक्ष खांले बताए ।
वर्षाको समयमा जनतालाई आवाजजावतमा समस्या भएको कारण पहिलो प्राथामिकतामा राखेर पुल निर्माण गरिएको समेत अध्यक्ष खांनले बताए ।
कार्यक्रममा उपाध्यक्ष सुधादेवी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, पूर्वप्रमुख प्रशासकीय अधिकृतहरु अनन्तपाणी मरासिनी र प्रेम प्रसाद पोखरेल जिल्ला समन्वय समितिका सदस्य काजु ताडीवानले गौरवको आयोजना र दिगो विकास र जनताको प्रत्यक्ष सरोकारको काम सम्पन्न भएकोमा खुसी व्याक्त गरेका थिए ।
प्रशासन अधिकृत ईश्वरी प्रसाद न्योपानेको संचालनमा सम्पन्न कार्यक्रममा वडा नं २ का अध्यक्ष मनोज कुमार यादव, वडा नं ६ का अध्यक्ष विजय बहादुर यादव, योजना अधिकृत सन्तोष कुमार श्रीवास्तव, स्थानीय समाजसेवी चन्द्र कुमार बढई लगायतले गाउँपालिकालाई बधाई तथा धन्यवाद दिएका थिए ।
साथै गाउँपालिकामा कार्यरत पूर्वप्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, प्रेम प्रसाद पोख्रेल, हालका अधिकृत कृष्ण प्रसाद ज्ञवाली लगायतलाई पुल निर्माण तथा विकासमा योगदान पुर्याएको भन्दै गाउँपालिकाले सम्मान गरेको छ ।
तपाईको प्रतिक्रिया