काठमाडौं, १७ चैत । भारत सरकारको ‘खोपमैत्री’ कार्यक्रमअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज उपहारस्वरुप प्रदान गरेको छ ।
टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा मंगलबार आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् ।
भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले सो खोप हस्तान्तरण समारोहमा भिडियो कन्फरेन्समार्फत सहभागिता जनाए । उनले दुई देशका सेनाबीच भातृत्वको साइनो रहेको बताए ।
सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सो खोप उपहारका लागि भारतीय सेना र भारत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।
उक्त खोप एयर इण्डियाको विमानमार्फत आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।
कोभिड–१९ महामारीविरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई गत वर्षदेखि रेमडेसिभिर, एक्सरेमेसिन, रेडियोग्राफी उपकरण, आइसीयु भेन्टिलेटर, भिडियो इण्डो स्कोपी युनीट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण तथा एम्बुलेन्सलगायत विभिन्न किसिमको सहयोग गर्दै आएको छ ।
भारतले अहिले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपको हस्तान्तरणले कठिन घडीमा दुई देश र दुई देशका सेनाबीच हुने सहकार्यलाई पुष्टि गरेको छ ।
तपाईको प्रतिक्रिया