कुम्भबाट फर्किए लगतै पूर्वराजाले दिए भारतलाई धन्यवाद

समाचार

4/19/2021

काठमाडौं, ६ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भारत बसाईलाई सरल र सहज बनाउने व्यवस्थाका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गरेका छन् ।

एक वक्तव्य जारी गर्दै शाहले महाकुम्भमा शाही स्नान र गंगा आरतीको विशेष प्रबन्ध मिलाउन अखाडा परिषदले लिएको दायित्व आफैमा अविस्मरणीय रहेको पनि बताएका छन् ।

‘शाही स्नान अवधिमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरूको तर्फबाट हामीलाई गरिएको अभिनन्दन र आर्शिवचनका लागि हामी आभार व्यक्त गर्दछौँ’, पूर्वराजाले भनेका छन् ।

‘निरन्जन अखाडाका पीठाधीश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीको निमन्त्रणामा पवित्र तिर्थस्थल हरिद्वारमा हरेक १२ वर्षमा सम्पन्न हुने महाकुम्भमेला अनुष्ठानमा सहभागी भएर स्वदेश फर्केका छौँ’, पूर्वराजाको वक्तव्यमा भनिएको छ, ‘हाम्रो यो महत्वपूर्ण धार्मिक भ्रमणका क्रममा हरिद्वारमा भएको हाम्रो विशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति निरन्जन पीठका पीठाधीश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीमा तथा समस्त सन्त महात्माहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।’

पूर्वराजा शाहले भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किँदा विभिन्न संघसंस्था तथा नेपाली जनसमुदायबाट दर्साइएको स्वागत सम्मानका निम्ति पनि सबै शुभचिन्तक दाजुभाइ दिदीबहिनीप्रति दिलैदेखि आभार प्रकट गर्दै धन्यबाद दिन चाहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ