काठमाडौं, ३ जेठ । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा पहिलो पटक मृत्यु भएको छ । कोरोनाबाट एक महिलाको मृत्यु भएको हो ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।
तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको जनाइएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।
मृृतकको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।
नेपालमा अहिलेसम्म दुई सय ८१ संक्रमित पुगेका छन् भने ३६ जना उपचार पछि निको भएका छन् ।
तपाईको प्रतिक्रिया