कोरोनाले रौतहटमा दुई पत्रकारको मृत्यु

समाचार

5/13/2021

जनकपुरधाम, ३० बैशाख । रौतहट जिल्लामा एक पत्रकार र एक सञ्चार उद्यमीको कोभिडका कारण मृत्यु भएको छ । जिल्लाको गरुडास्थित रेडियो मधेश मसालाका स्टेशन म्यानेजर पत्रकार मनोज कुमार चौधरी र गौरस्थित रेड टेलिभजनकी सञ्चालिका सञ्चार उद्यमी रमादेवी यादवको कोभिड संक्रमणको कारण उपचारको क्रममा मृत्यु भएको हो ।

पत्रकार चौधरीको विरगञ्जस्थित नारायण अस्प्तालमा र संचार उद्यमी रमादेवीको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गतेदेखि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधवार मृत्यु भएको हो ।

करीब एक दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार चौधरीको परिवारमा श्रीमति र एक छोरी छन् । कोरोना महामारीका बेलामा गाउँ गाउँमा घुमेर समाचार संकलन गर्दै आइरहेको क्रममा उनी संक्रमित भएका थिए ।

सञ्चार उद्यमी रमादेवीलाई पनि ज्वरो रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि एक हप्ता अगाडि संक्रमण पुष्टि भई गौरस्थित जिल्ला अस्पतालमा उपचार हुँदै आएको थियो । रमादेवी नेपाल पत्रकार महासंघ रौतहटका पूर्व उपाध्यक्ष जय प्रकाश यादवका श्रीमति हुन् ।

यसैबीच, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेशकुमार कर्णले फ्रन्टलाईनरको रुपमा काम गर्दै आएका मृतक पत्रकार चौधरी र संचार उद्यमी रमादेवीको परिवारलाई उचित राहत उपलब्ध गराउन प्रदेश सरकारसँग मांग गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ