वीरगन्ज, २७ असोज । नेपालमा कोरोना महामारी चरमोत्कर्षमा पुगेको बेला जसपाले वीरगञ्जमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।
जसपाको केन्द्रीय नेताहरुको उपस्थितिमा वीरगञ्जमा सयौंको उपस्थितिमा दुई स्थानमा बृहत पार्टी प्रवेश तथा नेपालीहरुको दसैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पुर्साको सखुवाप्रसौनी गाउँपालिकाको औराहामा र महुवनमा पार्टी प्रवेश कार्यक्रम भएको हो ।
करिब एक हजार व्यक्तिले पार्टी प्रवेश गरेका छन् । त्यस क्रममा पूर्व प्रधानमन्त्री एवम् जसपाका वरिष्ठ नेता बाबुराम भट्टराई, पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, राजेन्द्र श्रेष्ठ, पर्साका प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरुको उपस्थिति थियो ।
गत भदौसम्म कोरोनाको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा अझै पनि भेला, सभा। सम्मेलन गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । कोरोना महामारीको उच्च जोखिम कायमै रहेकाले भौतिक दूरी, मास्क र बेलाबेला हात धुन प्रशासनले अनुरोध गर्दै आएको छ ।
नेता भट्टराई र कार्यकारणी अध्यक्ष यादवले नवप्रवेशीलाई माला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले अबको लक्ष्य आउँदो निर्वाचनमा सिंहदरबारको कुर्सी कब्जा भएको बताए । ‘कुर्सी कब्जा भएपछि संविधान संशोधन र विकासको रोडम्याप लागू हुन्छ,’ भट्टराईले भने । पूर्व उपप्रधानमन्त्री एवम् पार्टी कार्यकारणी अध्यक्ष उपेन्द्र यादवले विकास बजेट र राजनीतिक नियुक्तिमा अझै भेदभाव कायमै रहेको दाबी गरे । उनले भने, ‘हामी जति संगठित हुन्छौँ त्यत्ति नै हाम्रो शक्ति बढ्छ, त्यो शक्ति भनेकै पार्टी हो ।’ देशमा नयाँ प्रणालीको सुरुवातका लागि निरन्तर संघर्षको आवश्यकता रहेको पनि उनले बताए ।
तपाईको प्रतिक्रिया