जनकपुरधाम, १३ चैत । प्रदेश २ मा पुनः कोरोना संक्रमण देखिएकाले सुरक्षा सतर्कता अपनाउने निर्णय गरिएको छ । प्रदेश सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा थप सतर्कता अपनाउने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवसहित बसेको बैठकले होली पर्व भिडभाड नगरेर आ–आफ्नो घरमै मनाउनका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ ।
यस्तै, सिरहाको मालपोत कार्यालयमा भएको बम विस्फोटको आँकलन गर्दै प्रदेशभरिको कार्यालयहरूमा थप सुरक्षा सावधानी अपनाउने र कोरोना महामारी फैलिन नदिन क्वारेन्टिन तथा आइसोलेसन केन्द्र तयारी अवस्थामा राख्ने निर्णय भएको मन्त्री यादवले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारले नेपाल–भारत सीमा क्षेत्रमा हुने निकासी–पैठारी अनुगमनका लागि संसदीय उपसमितिसमेत गठन गरेको छ । प्रदेशसभा सदस्य अशोककुमार यादवको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरिएको उनले बताए ।
नेपाल–भारतका सीमा क्षेत्रमा सरसामान निकासी तथा पैठारीको क्रममा सर्वसाधारण तथा व्यापारीले खेप्नु परेको समस्या बुझेर समाधानको उपाय निकाल्न उपसमितिले अनुगमन गर्नेछ । यही चैत १३ गतेदेखि पर्साबाट अनुगमन थाल्ने उपसमितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया