जनकपुरधाम, २७ कार्तिक । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले तेस्रो चरणको तैयारी शुरु गरेको छ ।
कोरोना महामारीको वर्तमान अवस्था, विगतमा भए गरेको कामकाजको समीक्षा र अगामी रणनीतिबारे छलफल गर्न बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थान समिति (पिसिसिएमसी)को बैठकले कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा पुगिसकेको निष्कर्ष निकालेको छ ।
महामारी विरुद्धको तेस्रो चरणको तयारी स्वरुप पचास हजार भिटिएम र रिएजेन्ट खरिद गरिसकेको, पिसिआर ल्याब संचालन गर्न बाँकी रहेको चार जिल्लामा यसै सातादेखि ल्याब संचालनमा ल्याउन सम्पूर्ण तयारी पुरा भैसकेको समाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादवले जानकारी गराएका छन् ।
तेस्रो चरणका लागि महत्वपूर्ण रहेको अस्पतालमा आधारित उपचार प्रणालीलाई थप सुदृढ बनाउन प्रदेश भरिका ६ वटा अस्पतालमा २५ बेडका दरले जम्मा १५० बेडको उच्च निर्भरता कक्ष (एच डि यु) निर्माण गर्ने निर्णय समेत गरेको छ ।
यसका साथै प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालहरुले खरिद गरेको भेन्टिलेटरहरुलाई अतिशीघ्र संचालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।
मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको अध्यक्षतामा सम्पन्न बैठकले निकट भविष्यमा आउन लागेको कोरोना विरुद्धको भ्याक्सिनलाई व्यवस्थापन गर्न तीन सदस्यीय भ्याक्सिन व्यवस्थापन समिति गठन समेत गरेको छ ।
संक्रामक रोग विशेषज्ञ एवं विज्ञ समूहका सदस्य डा. गरिबनाथ ठाकुरको संयोजकत्वमा गठित उक्त समितिमा आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झालाई राखिएको छ ।
तपाईको प्रतिक्रिया