सर्लाही, १० असार । सर्लाहीमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि एकीकृत पहल स्वरुप कोभिड–१९ घुम्ती सहयोग केन्द्र सुरु गरिएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट सुरु भएको कोभिड–१९ घुम्ती सहयोग केन्द्रबाट ९ किसिमका सेवा एक साथ प्रदान गरिँदैछ ।
सहयोग केन्द्रबाट ज्वरो तथा अक्सिजनको मात्रा मापन गरिएको छ भने कोरोनासँग मिल्दोजुल्दो अन्य लक्षणहरुको सोधपुछ गरी आवश्यक स्वास्थ्य परामर्श दिने काम पनि गरिएको छ ।
कोरोनाको परीक्षण गराउन अभिप्रेरित गर्न मैथिली भाषामा तयार गरिएको अडियो सन्देश टोलटोलमा सुनाउने, तथा माइकिङ गर्ने कामसमेत गरिएको छ । शंकास्पद व्यक्तिलाई एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।
दौतरीको सहकार्य तथा भोरको पहलमा अषाढ ८ गतेदेखि सुरु गरिएको कोविड १९ घुम्ती सहयोग केन्द्र सर्लाहीको चन्द्रनगर गांउपालिकाको सातवटै वडाको ३० भन्दा बढी टोलहरुमा अगामी १० दिनसम्म सञ्चालन गरिनेछ ।
चन्द्रनगर गांउपालिकामा सञ्चालनपश्चात् सो सहयोग केन्द्र आवश्यकताअनुसार र श्रोतको उपलब्धताको आधारमा सर्लाहीको अन्य स्थानीय तहमा एवम अन्य जिल्लाहरुमा पनि संचालन गर्ने योजना रहेको भोरका अध्यक्ष पचुलाल माझी बताउँछन् ।
तपाईको प्रतिक्रिया