वीरगञ्ज, २३ बैशाख । वीरगञ्ज महानगरपालिकामा बढ्दै गएको कोरोना संक्रमितहरुको उपचारमा सहज होस् भनेर वीरगञ्ज महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपल्बध गराएको छ ।
महानगरपालिकाले बुधबारदेखि महानगरका संक्रमितहरुको लागि निःशुल्क दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदीप यादवको संसदीय विकास कोषबाट खरिद गरिएका दुई थान एम्बुलेन्स सांसद यादवले बुधबार नै वीरगञ्ज महानगरपालिकालाई हस्तान्तरण गरेका थिए ।
आफ्नो संसदीय विकास कोषबाट खरिद गरिएको एम्बुलेन्स र शव वाहन एक कार्यक्रमबीच वीरगञ्ज महानगरपालिकालाई हस्तान्तरण गरे ।
महानगरको मातहत चल्ने ती एम्बुलेन्सबाट कोरोना महामारीमा वीरगञ्जवासीलाई निःशुल्क सेवा र सुविधा मिल्ने विश्वास लिएको उनले बताए ।
यसैबीच महानगरमा होम आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाई वीरगञ्ज महानगरपालिकाले निःशुल्क औषधि वितरण गर्ने कार्य सुरु गरेको छ । होम आइसोलेशनमा रहेका संक्रमितहरुको घरमै पुगेर महानगरका मेयर विजय कुमार सरावगीले निःशुल्क औषधि वितरण गरे ।
महानगरपालिकाको वडा ५ मा होम आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाई उनीहरुको घरमै पुगेर निःशुल्क औषधि वितरण गरेको महानगरका मेयर सरावगीले जानकारी दिए ।
संक्रमितहरुको लागि ८ किसिमको औषधि महानगरपालिकाले निःशुल्क रुपमा उपल्ध गराउने उनले बताए । यसका लागि महानगरले एक जना स्वास्थयकर्मीलाई नै जिम्मेवारी दिएको मेयर सरावगीको भनाइ छ ।
यस्तै वीरगञ्ज महानगरपालिकाको प्राङ्गणमा बुधबारदेखि अक्सिजन बैंक स्थापना गरी सञ्चालनमा ल्याइएको छ । लायन्स क्लब अफ वीरगञ्ज र वीरगञ्ज महानगरपालिकाको साझेदारीमा अक्सिजन बैंक स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
अक्सिजन बैंकबाट कोरोना महामारीमा वीरगञ्जका अस्पतालहरूमा भर्ना गरिएका कोरोनाका बिरामीलाई आवश्यकता परेका बेला अक्सिजन निःशुल्क रूपमा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
तपाईको प्रतिक्रिया