कोरोना संक्रमति बालबालिका लागि बाल सघन चिकित्सा इकाइ निर्माण

समाचार

6/9/2021

वीरगन्ज, २६ जेठ । वीरगन्ज उद्योग वाणिज्य संघले नारायणी अस्पतालमा कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै सुविधा सम्पन्न आईसीयू कक्ष (बाल सघन चिकित्सा इकाइ ) निर्माण गरेको छ ।

संघले १५ दिनको अवधिमा ३० शय्याको सुविधा सम्पन्न आईसीयू कक्ष निर्माण गरी अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो । संघका अध्यक्ष सुबोध गुप्ता र पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले उक्त कक्ष, अस्पतालका निमित्त मेसु डा. वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरे ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको तेस्रो लहर पनि आउने सम्भावना रहेको र तेस्रो लहरमा बालबालिका जोखिममा पर्ने मध्यनजर गर्दै अस्पताल बनाइएको हो ।

नारायणी अस्पतालको तेस्रो तल्लामा २५ लाख रुपैयाँको लागतमा ३० शय्याको बाल सघन चिकित्सा इकाइ निर्माण गरिदिएको संघका अध्यक्ष सुबोध गुप्ताले बताए ।

गुप्ताका अनुसार, दुई हप्ता पहिले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसएमीसीको ) बैठकमा संघले नारायणी अस्पतालमा कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै सुविधा सम्पन्न आईसीयू कक्ष निर्माण गरिने घोषणा गरेको थियो ।

टिनको सेडमा पर्खाल, फल्स सिलिङ, मार्बल, झ्याल, ढोका राखेर र शौचालय निर्माण गर्नुका साथै ८ टन क्षमताको दुई वटा एसीसमेत जडान गरी ३० वटा तयारी शैया राखेर सुविधासम्पन्न आईसीयु कक्ष बनाइएको गुप्ताले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ