सिरहा, १३ जेठ । जिल्ला अस्पताल सिराहामा कोरोना संक्रमणको उपचार गराइ रहेकालाई निःशुल्क भोजन वितरण सुरु गरिएको छ । स्थानीय समाजसेवीको अगुवाइमा जिल्ला अस्पताल सिराहामा उपचाररत संक्रमित, संक्रमितका कुरुवा र अस्पतालमा उपचाररत अन्य रोगीलाई निःशुल्क भोजन वितरण थालिएको छ ।
समाजसेवी सन्तोष अग्रवाल, सज्जन अग्रवाल र शम्भु अग्रवालले जिल्ला अस्पताल सिराहाका ४० जनालाई दैनिक बिहान र बेलुकाको खाना, पानीको बन्दोबस्ती गरी वितरण सुरु गरेको जिल्ला अस्पताल सिराहाले जनाएको छ ।
जिल्लाभरिबाट कोरोना संक्रमितहरू उपचार गराउन आउने, तर निषेधाज्ञा कारणले यहाँका होटेलहरू बन्द हुँदा खानेकुराका लागि भौँतारिनुपर्ने बाध्यता थियो । जिल्लाका टाढाटाढाबाट आउने संक्रमितसँगै कुरुवालाई चाउचाउ, बिस्कुटले भोक मेटाउनुपर्ने बाध्यता थियो ।
निःशुल्क रूपमा दुई छाक पौष्टिक आहारसहितको भोजन उपलब्ध भएपछि उपचाररत कोरोना संक्रमित कुरुवालाई अब त्यो झन्झटबाट मुक्त भएको जिल्ला अस्पताल सिराहाका मेसु डा. नागेन्द्रप्रसाद यादवले बताए ।
तपाईको प्रतिक्रिया