काठमाडौं, २ असार । कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट १७ जना व्यक्तिलाई कार्यकारिणी सदस्य मनोनित गरी यस सम्बन्धी नामावली अद्यावधिक गर्न निर्वाचन आयोगमा नाम बुझाएका छन् ।
आयोगमा नाम बुझाउन अध्यक्ष ठाकुर आफै आयोग पुगेका थिए । ठाकुर निकट नेता राजिव झाले ठाकुरले गरेको मनोनयन निर्वाचन आयोगमा बुझाइएको बताए । मनोनयनमा उनलाई पनि समेटेएिको छ ।
ठाकुरले मनोनित गरेको व्यक्ति ठाकुर र राजेन्द्र महतो निकट मात्र छन् । ठाकुरले आफू निकट १० जना र महतो निकट ७ जना नेतालाई कार्यकारिणी समितिको सदस्यमा नियुक्त गरेका छन् ।
उनले दुई वटा अध्यक्ष मध्ये एउटा अध्यक्षको नाम खाली राखेका छन् । पहिलो अध्यक्षमा उनले आफ्नो नाम राखेका छन् ।
ठाकुरले उपेन्द्र यादव निकट कार्यकारिणी समितिका सदस्यहरुको नाम हटाइ त्यसको ठाउमा आफूले मनोनित गरेका सदस्यहरुको नाम राखेका हुन ।
जसपामा दुई अध्यक्ष रहने व्यवस्था भने उनले कायमै राखेका छन् । ठाकुरले पठाएको सूचीमा कार्यकारिणी समितिको संख्या ५१ राखिएको छ ।
ठाकुरले थपेको कार्यकारिणी सदस्यहरूमा डा. विजय सिंह, सुरेन्द्र झा, विमल श्रीवास्तव, राजिव झा, उमाशंकर अरगरैया, इकबाल मिया, परमेश्वर साह, सत्रदिप यादव, सुरेश मण्डललगायतका छन् ।
तपाईको प्रतिक्रिया