कालापानीमा सशस्त्रको नियमित गस्ती

समाचार

6/15/2020

काठमाडौं, १ असार । सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो ।

सरकारले भारतीय अतिक्रमणमा परेको कालापनी, लिपुलेक र लिम्पियाधुरासमेतको भूमिलाई समेटेर नयाँ राजनीतिक नक्शा जारी गरिसकेको छ । सो नक्शालाई समेटेर बनाइएको निसान छापलाई प्रतिनिधिसभाको गत जेठ ३१ गतेको बैठकले नेपालको संविधानको अनुसूचीमा संशोधनको विधेयकलाई सर्वसम्मतरुपमा पारित गरेको छ ।

सो क्षेत्रमा भारतीय सुरक्षा फौज बसिरहेको तथा लिपुलेक र लिम्पुयाधुरा क्षेत्रमा यातायात सहज नभएकाले सरकारले क्रमशः राज्यको उपस्थिति बढाउन थालेको हो । नेपाल र भारतबीचको सुगौली सन्धि बमोजिम कालीनदीदेखि पूर्वतर्फ नेपाल हो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले छाङ्रुमा बिओपी सञ्चालनमा आएपछि त्यहाँका जनता खुशी भएको, उनीहरुले सुरक्षित महसुश गरेको र दार्चुला सदरमुकाम बस्दै आएका मानिसहरु गाउँ फर्कन थालेको बताए ।

बजेट विनियोजनपछि छाङ्रुमा सशस्त्र प्रहरी बल नेपालले भवन निर्माण प्रक्रिया शुरु गरिसकेको छ । सरकारले भावन निर्माणका लागि रु ११ करोड बजेट छुट्याइसकेको छ ।

गत वैशाख ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ २५ सशस्त्र प्रहरी पु¥याएर बिओपी स्थापना गरिएको थियो । गत मङ्सिर २३ गते सरकारले सीमा क्षेत्रमा थप ११४ निगरानी चौकी स्थापना गर्ने निर्णय गरेको थियो ।

विगतमा ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बलको उपस्थितिलाई हाल ७७ जिल्लामा विस्तार भइसकेको छ । विसं २०७४ को अन्त्यसम्म ८७ वटा रहेको बिओपीलाई २२१ सम्म विस्तार गर्ने योजनाअनुहार हाल १३० सञ्चालनमा ल्याइएको छ ।

उत्तरी सीमातर्फ संखुवासभाको किमाथांका, दार्चुला छाङ्रु, मुस्ताङ्गको नेचुङ्गमा नयाँ बिओपी स्थापना भएका हुन् । हुम्लाको नाम्खाको हिल्सा र बैतडीको पञ्चेश्वरमा चाँडै बिओपी उद्घाटन गरिने खनालले बताउनुभयो ।

सीमा क्षेत्रमा थप १ सय १४ वटा बिओपी निर्माण गर्न नेपाल सरकारबाट स्वीकृति प्राप्त भएकामध्ये २३ वटा स्थापना भइसकेको र अन्य स्थापनाको क्रममा रहेको बलले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ