वीरगञ्ज, १२ पुस । वीरगञ्जमा किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम दिइएको छ । नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन)ले संवाद समूहका १६ जनालाई कपडाको सेनेटरी प्याड बनाउने दुई दिने तालिम दिएको हो ।
तालिमपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर २९, ३० र ३२ का किशोरीहरु प्याड बनाउन सक्ने भएका छन् । सिर्जना किशोरी संवाद समूहको सदस्य वीरगञ्ज ३० प्रसोतीपुरकी हजरा खातुनले घरेलु प्याड बनाउन सिक्न पाउँदा खुशी लागेको बताइन् ।
कपडाको प्रयोग गरी पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका अरुलाई सिकाउने आत्मविश्वास उनीहरुमा देखिन्छ ।
बजारमा पाइने प्याड एकपटक प्रयोग गरेपछि अर्को पटक प्रयोग गर्न मिल्दैन । तर कपडाको प्याडलाई पूनः प्रयोग गर्न सकिन्छ । सुरक्षित हिसाबले प्रयोग गर्ने तरिका भने जान्नुपर्छ । उनीहरुले त्योपनि सिकेका छन् । कपडाभन्दा सुरक्षित र बजारको प्याडभन्दा कम खर्चमा घरेलु प्याड बनाउन जानेपछि एकता किशोरी संवादको कोषाध्यक्ष इन्दुकुमारी गुप्ता दंग छिन् ।
लालीगुँरास सवाद समूहकी अध्यक्ष शोभा कुमारी कुशवाहा सेनेटरी प्याड बनाउने तालिम निकै प्रभावकारी भएको बताउँछिन् । किशोरी संवाद सञ्जालले नै माग गरेको आधरमा सेनेटरी प्याडको तालिम दिइएको संस्थाका संवाद अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया