किशोरी बलात्कार आरोपमा युवक पक्राउ

समाचार

7/16/2021

वीरगञ्ज, १ साउन । विवाह गर्ने प्रलोभन देखाएर १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपराटोल २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका कानुले असार १४ गते राति किशोरीको घरमा गई बिहे र जागिर लगाई दिने भनि जबरजस्ती करणी गरेको आफन्तको आरोप छ ।

उनले किशोरीलाई पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ स्थित बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको आरोप आफन्तले लगाएको छ । त्यसपछि पनि उनले किशोरीलाई आफूसँगै राखी पटकपटक जबरजस्ती करणी गरेको आफन्तले बताएका छन् ।

किशोरीका अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले कानुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका युवकलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ