जनकपुरधाम, १० असार । क्षीरेश्वरनाथ नगरपालिकाले आठौं नगर सभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागि ६१ करोड २४ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको छ । धनुषाको महेन्द्रनगरमा आयोजित आठौं नगर सभामा नगर प्रमुख योगेन्द्र पजियारले ०७८÷०७९ को बजेट प्रस्तुत गरेका हुन ।
बजेटमा कृषि, सिँचाई र स्थानीय बजारलाई बढी जोड दिएको हो । यस्तै अगामी बजेटमा बस्तीबाट वडा केन्द्र जोड्ने सडक, वडाबाट केन्द्र जोड्ने अधुरा सडकहरूलाई विशेष प्राथमिकता दिइएको छ ।
मेयर पजियारले बजेटमा केन्द्रबाट प्राप्त हुने समानिकरण अनुदान, सशर्त, सन्पूरक अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड राजस्व बाँडफाँड र प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण, सशर्त, सन्पूरक, सवारीसाधन कर, मालेपात कार्यालयबाट घरजग्गा रजिष्ट्रटेसन कर तथा विशेष अनुदान कार्यक्रम र आन्तरिक आयलाई समेटेर सो अनुमानित बजेट सार्वजनिक गरे ।
नगर प्रमुख योगेन्द्र पजियारकै अध्यक्षतामा भएको आठौं नगर सभा भएको हो । नगर सभामा बोल्दै मेयर पजियारले चालु आर्थिक वर्ष २०७७÷०७८ मा केन्द्र तथा आन्तरिक स्रोतबाट करिब ६७ करोड २७ लाख ५१ हजार प्राप्त भएको र सो मध्ये नगर क्षेत्रको विकासका लागि हालसम्म ३२ करोड ६५ लाख १० हजार खर्च भएको जानकारी गराए ।
प्रदेश २ को राजधानी जनकपुरधामको प्रदेशद्वारको रूपमा रहेको यस नगरपालिकालाई हरित सडकको व्यवस्था गरिने, दुधमति पोखरी क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास, स्थानीय सरकार जनतासँग कार्यक्रमको व्यवस्था मिलाउने र प्रत्येक महिना वडा कार्यालयमा जनप्रतिनिधिसँग जनताको प्रत्यक्ष संवाद कार्यक्रम गर्ने जस्ता योजनाहरू नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएका हुन् ।
तपाईको प्रतिक्रिया