कोसी अस्पतालका चिकित्सक आन्दोलित

समाचार

6/2/2021

विराटनगर, १९ जेठ । प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको भन्दै कोसी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार राति ९ बजे कोसी अस्पतालको डिउटी सकेर घर फर्कने क्रममा देवकोटा चोकमा चेकजाँचका नाममा प्रहरीले पाँचौँ तहका अहेव अशोक राजवंशीलाई कुटपिट गरेको बताइएको छ । डिउटीमा खटिएका दुईजना प्रहरीले आफूलाई खुट्टामा लाठी प्रहार गरे राजवंशीको भनाइ छ ।

घटनाको विरोधमा नेपाल चिकित्सक संघको अगुवाइमा कोसी अस्पताल परिसरमा प्रदर्शन गरिएको हो ।

संघका कोसी अध्यक्ष डा. फरवार्ड सिलवालले भने, ‘ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा दिनुको साटो उल्टै कुटपिट हुनु व्यावहारिक रुपमा पनि ठिक भएन । संलग्नलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ ।’

आफूहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराएको सिलवालले बताए ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले घटनाको अनुसन्धान गरिने र दोषी पाइए कारबाही हुने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ