रौतहट, ८ असार । खानेपानी मन्त्री अनिलकुमार झा गृह जिल्ला रौतहटको भ्रमणमा आइ पुगेका छन् । सरकारमा मन्त्रीको पदभार ग्रहण गरेपछि पहिलोपटक उनी गृह जिल्ला रौतहट पुगेका हुन् । उनले गत जेठ २१ गते मन्त्री पदको शपथ लिएका थिए ।
गृह जिल्ला रौतहट पुग्दा उनलाई स्वागत गर्न ४२ किलोमीटर टाढा सदरमुकाम गौरलगायत जिल्लाका सबै गाउँबाट कार्यकर्ता तथा शुभचिन्तकहरु रौतहट र बारा जिल्ला सीमा नजिक पूर्वपश्चिम राजमार्ग पुगेका थिए ।
मन्त्री झा आउने खबर पाएपछि जनता समाजवादी पार्टीका कार्यकर्ताहरु स्वतःस्फूर्त रुपमा हजारौंको संख्यामा पुगेका थिए ।
जसपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख रहेका झा रौतहट जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
गृह क्षेत्रबाट निर्वाचित उनले जिल्लामा गरेका विकास कार्यबाट स्थानीय वासिन्दा प्रफुल्लित छन् । उनलाई स्वागत गर्न कार्यकर्ताहरुको तछाडमछाड थियो ।
माला र पुष्पगुच्छा लिएर राजमार्गमा पुगेका कार्यकर्ताहरुले उनको पक्षमा नाराबाजीसमेत गरेका थिए । केही दिन गृहजिल्लामै रहने मन्त्री झाले पार्टी कार्यकर्ताहरुलाई विभिन्न स्थानमा सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस क्रममा स्थानीय वासिन्दाका समस्या सुन्ने र समाधानका लागि सरकारका तर्फबाट हुन सक्ने सहयोगका विषयमा जानकारी दिने छन् ।
तपाईको प्रतिक्रिया