खोप उपलब्ध गराइदिन राष्ट्रपतिद्वारा भारतीय समकक्षीलाई आग्रह

समाचार

5/26/2021

काठमाडौं, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको कोभिसिल्ड खोप उपलब्ध गराइदिन भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् ।

पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउने कार्यका लागि पहल गरिदिन भारतीय समकक्षीलाई राष्ट्रपति भण्डारीले पत्राचार गरेका हुन ।

नेपालमा २१ लाख १३ हजार जनाले पहिलो डोज कोभिसिल्ड खोप लगाएर दोस्रो डोजको प्रतिक्षामा छन् । भारतले यसअघि २० लाख डोज कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराइसकेको छ ।

बाँकी १० लाख डोज खोप आउन बाँकी छ । विश्वकै ठूलो औषधि उत्पादन कम्पनी सेरम इष्टिच्युटले भारतमै खोपको माग अत्यधिक रहेको जनाउँदै वर्ष २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने भनेपछि नेपालले खोप पाउनमा ढिलाई भइरहेको छ ।

खोपमा ढिलाई भएपछि राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीमार्फत विशेष पहल गरेकी हुन् । भारतीय समकक्षीलाई पठाइएको पत्रमा राष्ट्रपति भण्डारीले भारतमा कोरोना महामारीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै कोरोनाविरुद्ध आपसी सहकार्य गर्दै मिलेर लड्न आग्रह समेत गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ