वीरगन्ज, २५ जेठ । वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज क्षेत्रका उद्योगी व्यवसायी, मजदुर र कर्मचारीका लागि तत्कालै १ लाख डोज कोभिड विरुद्धको खोप सरकारसँग माग गरेको छ ।
मङगलबार संघले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई पत्रचार गरेर वीरगन्जको निजी क्षेत्रलाई तत्काल १ लाख डोज खोप माग गरेको हो ।
संघकाअनुसार वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा साना ठूला गरी करिब १ हजार उद्योगहरु सञ्चालनमा छन् ।
उद्योगहरुमा उद्योगी, मजदुर, कर्मचारी गरी १ लाख भन्दा बढी जनशक्ति कार्यरत रहेको संघले जनाएको छ ।
त्यसकारण तत्काल १ लाख डोज खोप वीरगन्जको निजी क्षेत्रका लागि उपलब्ध गराइदिन संघले स्वास्थ्यमन्त्रीलाई पत्र नै लेखेर माग गरेको संघका अध्यक्ष सुबोध गुप्ताले बताए ।
कोभिड महामारीको उच्च जोखिमका बीचमा पनि उद्योग कलकारखाना सञ्चालन गरेर अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको भए पनि खोप अभियानमा सरकारको प्राथमिकतामा निजी क्षेत्र नपरेको गुनासो संघको छ ।
प्राथमिकतामा नपरेकै कारण अहिलेसम्म पनि उद्योगी, मजदुर र कर्मचारीहरु कोभिड विरुद्धको खोपबाट बञ्चित रहनु परेको संघले जनाएको छ ।
स्वास्थ्यविद् र वैज्ञानिकले कोभिड संक्रमणको तेश्रो लहर पनि छिट्टै देखापर्ने बताइरहँदा तेश्रो लहर आउनुअघि नै वीरगन्ज क्षेत्रमा रहेका उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र उद्योगीलाई खोप लगाउन अपरिहार्य भएको अध्यक्ष गुप्ताले बताए ।
उनले भने, ‘१ लाख डोज खोप सरकारले स्वास्थ्य कार्यालय मार्फत संघलाई उपलब्ध गराइदिनु पर्छ, त्यसपछि खोप कसलाई कहाँ कसरी लगाउने काम संघ आफैँले गर्नेछ ।’
यदी सरकारले तत्कालै खोप उपलब्ध नगराएमा वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका उद्योगहरु बन्द नै गर्नुपर्ने अवस्था आउने चेतावनी संघले दिएको छ ।
अहिले पनि यस औद्योगिक कोरिडोरका उद्योगहरु ५० प्रतिशत क्षमतामा मात्रै सन्चालनमा रहेको उनले बताए । कोभिडको डरले कतिपय मजदुर तथा कर्मचारी उद्योगमा आएकै छैनन् । जसकारण अहिले उद्योगहरु ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा छन् ।
अब तेश्रो लहर पनि आउने संकेत देखिएकाले यदी तत्कालै खोप लगाउन पाइएन भने अहिले आधा क्षमता चलिरहेका उद्योगहरु पनि पूर्ण रुपमा बन्द गर्नुपर्ने अवस्था आउने उनले बताए ।
संघले खोपका लागि स्वास्थ्य मन्त्रीलाई पत्र लेख्नुका साथै प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिका पनि यस बारेमा लिखित जानकारी गराएको अध्यक्ष गुप्ताले बताए ।
तपाईको प्रतिक्रिया