काठमाडौं, १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समायोजन प्रक्रिया पूरा नहुँदै बारम्बार विभाजनका रेखाहरु कोरिँदै आएका छन् । दुई फरक सिद्धान्त र विचारका कम्युनिष्टहरुबीचको एकता लामो समयसम्म जान नसक्ने भन्ने व्याख्या विश्लेषण पनि हुँदै आएका छन् ।
अहिले नेकपाभित्रको विवाद दुई अध्यक्ष अर्थात् प्रचण्ड र केपी ओलीबीच भएको सम्वादले समस्याको समाधानभन्दा पनि झन् विभाजनका लागि स्पष्ट संकेत दिएका छन् ।
यता, दुई अध्यक्षबीच भएको कुराकानीबारे सञ्चारमाध्यमहरुमा जानकारी गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन रोक्न दुई अध्यक्षबीच फेरि संवाद गर्नुपर्ने बताएका छन् ।
सोमबार बिहान आफ्नै निवासमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई संवादमार्फत अन्त्य गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको बताएका हुन् ।
‘हामीले के भन्यौं भने ठूलो मेहनेत गरेर पार्टी एकता गरेको हो । ‘ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न । हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ । त्यसकारणले अध्यक्ष प्रचण्डले फेरि एकचोटी अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस्, बैठक बसौं भनेर बैठक राख्ने नै प्रयत्न गरौं’ उनले भने ।
गत शनिबार प्रचण्ड र केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी भएको थियो । उक्त कुराकानीबारे प्रचण्डले आफूनिकट सचिवालय सदस्यलाई ब्रिफिङ गरेका थिए ।
प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरुसँग भएको ब्रिफिङ पछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओली बीच कुनै संवाद हुन नसकेको पनि बताए ।
ब्रिफिङमा अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीचको संवादमा अध्यक्ष ओलीले अब कुनैपनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिक रुपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राखेको जानकारी गराएका श्रेष्ठले बताए ।
अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया