काठमाडौं, २५ असार । नेपाल सरकारले बिस्तारै भारततर्फको खुला सीमालाई नियमन गर्दै जाने गृहसचिव महेश्वर न्यौपानेले बताएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले बिहीबार मेरियट होटलमा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा न्यौपानेले नेपाल–भारत खुला सीमालाई व्यवस्थापन गर्नुपर्ने औंल्याए । उनले सीमा क्षेत्रमा एउटा प्रहरी बसेर मात्र सुरक्षा नहुने उल्लेख गर्दै अन्य क्षेत्रको समन्वयमा सीमा सुरक्षा हुने बताए ।
उनले भन्सार, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानलगायत निकायहरूबीच समन्वय भएर मात्र सीमा सुरक्षालाई बलियो बनाउन सकिने बताए । उनले सीमा क्षेत्र खुला हुँदा र बन्द हुँदा आ–आफ्नै किसिमका फाइदा र बेफाइदा हुने बताए ।
कोभिड–१९ पछिको परिस्थितिलाई मूल्यांकन गर्दा अब दुई मुलुकबीचको खुला सीमालाई नियमन गर्दै जाने उल्लेख गरे ।
न्यौपानेले नेपाल–भारत खुला सीमा क्षेत्रमा दुई वर्षभित्रमा ५ सय बोर्डर आउट पोस्ट (बीओपी) पु¥याउने लक्ष्य रहेको बताए ।
उनले भने, ‘नेपाल र भारत खुला सीमामा भारतीय पक्षबाट उसको विभिन्न सीमा सुरक्षा फौज गरी ५ सय वटाभन्दा बढी बीओपी राखेको छ । नेपालले पनि त्यो बराबर राख्नेछ,’ उनले भने ।
न्यौपानेले सरकारले सीमा सुरक्षाका लागि एपीएफभित्र छुट्टै डेडिकेटेड फोर्स छुट्याउनुपर्ने बताए । उनले नेपाल–भारतको सीमा क्षेत्रमा दुई मुलुकबीचको सीमा कुन हो भन्ने थाहा पाउनसमेत गाह्रो हुने गरेको बताए ।
उनले सीमा सुरक्षा गर्नका लागि पूर्वाधारको विकास, आर्थिक स्रोत, मानव साधन र प्राविधि महत्त्वपूर्ण रहेको प्रस्ट पारे । ‘बजेटमा पहिले नै सिलिङ तोकिएर आउँछ, कसरी पूर्वाधार निर्माण गर्न सकिन्छ र ?’ उनले भने ।
उनले नेपालले नयाँ चुच्चे नक्सा निकालेपछि दार्चुला जिल्लाको छाङरुमा एपीएफलाई खटाए पनि बलियो पूर्वाधार नभएको उल्लेख गरे । उनले भने, ‘नेपालको पारीपट्टि भारतीय सुरक्षा फौजको संख्या ठूलो छ र पूर्वाधार पनि छन् । नेपालको त्यस्तो अवस्था छैन ।’
कार्यक्रममा नेपाली सेनाका अवकाश प्राप्त रथी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का प्रमुख कार्यकारी निर्देशक बालानन्द शर्माले भारतले खुला सीमा भने पनि आफ्नो क्षेत्रमा कडा सुरक्षा गरेको बताए ।
‘भारतले आफ्नो भागमा कडा सुरक्षा गरेको छ भने हामीले हाम्रो क्षेत्रमा किन त्यसैगरी सुरक्षा नगर्ने ?’ उनले भने । ‘खुला सीमा नहुँदा धेरै समस्या हुन्छन् तर खुला हुँदा पनि समस्या हुन्छन् भन्ने थाहा भएको छ,’ उनले भने । उनले पनि खुला सीमालाई बिस्तारै नियमन गर्दै जाने बेला भएको बताए ।
तपाईको प्रतिक्रिया