मोरङ, ३२ साउन । जिल्लाको जहदा गाउँपालिका वडा नं. ३ मा रहेको श्री आदर्श आधारभूत विद्यालयमा गाउँपालिका अध्यक्षले मनोमानी तरिकाले प्रधानाध्यापक नियुक्त गरी घरमै बसीबसी तलब खुवाउने गरेका छन् ।
गाउँपालिका अध्यक्ष कैलाल प्रसाद मण्डलले मनोमानी तरिकाले विद्यालयमा अशोक साहलाई प्रधानाध्यापक नियुक्त गरेका छन् । साथै, साहकी श्रीमती चन्द्रकला साहलाई पनि शिक्षकको रुपमा नियुक्त गरी घरमै बसीबसी करिब दुई वर्षदेखि तलब दिने गरेको गुनासोहरु छन् ।
यता, अन्य ४/५ जना शिक्षकहरुलाई तलब दिइएको छैन । विद्यालयमा विगत एक वर्षभन्दा बढी समयदेखि हालसम्म प्रअ को विवाद कायमै छ । गाउँपालिकाले आफ्नो मनमानी ढंगले आफै प्रअ नियुक्ति गरि जबर्जस्ति राख भन्दै आइरहेको छ ।
वडा अध्यक्ष अनिल कुमार ठाकुरले समेत गाउँपालिका अध्यक्षको मनोमानीप्रति गुनासो गरेका छन् । उनले यसअघि नै यस्तो नियुक्ति नगर्न पत्राचार गरेका थिए ।
गाउँपालिका अध्यक्ष मण्डलले नियुक्त गरेको प्रअलाई विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र न जनताले पनि मन पराउँदैनन् । गैरकानूनी तरिकाबाट नियुक्त गरिएको र विद्यालयमा कहिल्यै पनि पढाउन नआएको गनासोहरु छन् ।
‘कैंयौचोटि बैठक भयो, पत्रकार सम्मेलन भयो । तर पनि केही सुनुवाई छैन ।’ सामाजिक अगुवा बसुन्धरा झा भन्छिन्, ‘गाउँपालिकाले नियुक्त गरेका प्रअ र उसकी श्रीमती दुवैलाई गाउँपालिकाले घरमै बसी–बसी १५–१६ महिनादेखि तलब दिँदै आएको छ ।’
‘यता ५–६ जना शिक्षक कर्मचारीहरुले तलब पाएका छैनन् । २ वर्षदेखि न त विद्यार्थीले किताब पाएका छन् न त छात्रवृत्ति पाएका छन् । धेरै बिडम्बना छ’, उनले गुनासो गरेकी छन् ।
गाउँपालिका विरुद्ध करिब ५–६ पटक आन्दोलनसमेत भइसकेको छ । गाउँपालिका अध्यक्ष मण्डलले व्यक्तिगत स्वार्थका लागि विद्यार्थीहरुको भविष्यसँग खेलवाड गरिरहेको गुनासोहरु छन् ।
तपाईको प्रतिक्रिया