गाउँपालिका कार्यालय सहयोगीद्वारा फिरौती माग

समाचार

6/17/2021

वीरगञ्ज, ३ असार । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख फिरौती माग गर्ने एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव छन् ।

पक्राउ परेका यादवले जिल्लाको सुवर्ण गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई अपरिचित नम्बरबाट फोन गरी एक घण्टाभित्र १५ लाख रुपैयाँ दिन भनेका थिए ।

उक्त रकम नदिए गोली हानी हत्या गर्नेसमेत यादवले अधिकृत श्रीवास्तवलाई धम्की दिएको प्रहरीले जनाएको छ । फिरौती मागेको अडियोसहितको सूचनाबाट अनुसन्धान गर्दै जाँदा ती युवकलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

यादव सोही गाउँपालिकामा करार सेवामा कार्यालय सहयोगीको रूपमा कार्यरत रहेको उनले बताए । यादवलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको मिश्रले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ