काठमाडौं, १० माघ । नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको १९औं पुण्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र स्थापना गरिएको छ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य अनिल महासेठको संयोजकत्वमा अध्ययन केन्द्र स्थापना गरिएको छ । केन्द्रीय संयोजक महासेठले अध्ययन केन्द्रमा गजेन्द्र बाबुको विचारधारा, सिद्धान्त एवं मधेश र मधेशीसँग दस्तावेजहरुबारे अध्ययन गर्न सकिने मधेशवाणीलाई बताएका छन् ।
मेचीदेखि महाकालीसम्मको सम्पुर्ण उत्पीडन विरुद्ध मधेशीको अधिकारको लडाईको सुरुवात गर्दै मधेशी, जनजाती, मुस्लिम, दलित उपर हुने बिभेद सहितका मधेशीको अधिकारको लडाईलाई मेची देखी महाकालीसम्म स्वाभिमान यात्राको सुरुवात गरी मधेशीलाई आफ्नो अधिकारका लागि लड्न प्रेरित गर्ने स्व. सिंहको स्मृतिमा केन्द्रको स्थापना गरिएको उनले बताए ।
नेपाली राजनीतिमा विभेदमा परेका समुदायहरुको अधिकार र पहिचानको नेतृत्व गरिरहेको राजनीतिकर्मी तथा आर्थिक, सामाजिक एवं साँस्कृतिक क्षेत्रमा सामाजिक रुपान्तरणको लागि अध्ययन केन्द्र सहयोगी सावित हुने संयोजक महासेठले बताए । उनले मधेशवाणीलाई भने, ‘स्व. गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले नयाँ पुस्तालाई अध्ययन, अनुसन्धान र सैद्धान्तिक बहसको थलो निर्माणमा विशेष जोड दिइनेछ ।’
यो अध्ययन केन्द्र गजेन्द्र नारायण सिंह लोककल्याणकारी प्रतिष्ठान, काठमाण्डौको मातहातमा रही स्थानीय श्रोत र साधनको प्रयोग गर्दै सञ्चालन गरिनेछ । अध्ययन केन्द्र काठमाडौँमा केन्द्रीय कार्यालय राखी सुरु गरिनेछ । पहिलो चरणमा मधेशको सबै जिल्लाहरु र अधिकतम स्थानिय तहदेखि देशैभर साथै बिदेशमा समेत यसलाई विस्तार गरिनेछ ।
उनले भने, ‘गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले उहाँकै स्मृति दिवसमा सप्तरीसहित देशको १७ वटा जिल्लामा “अधिकार पहिचानको संघर्ष र गजेन्द्र नरायण सिंह विषयक अन्तरक्रिया कार्यक्रम” गर्दैछ । नेपालमा रहेका दुई तिहाई आदिवासी, जनजाती, मधेशी र दलितको आर्थिक र सामाजिक हक अधिकारको लागि आजिबन संघर्ष गर्नुभएका पहिचानबादी नेता स्व.गजेन्द्र नारायण सिंहको नाम अध्ययन केन्द्र स्थापना गरिएको हो ।
तपाईको प्रतिक्रिया