जनकपुरधाम, २० जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चुरे दोहन गरेर ढुंगा, गिटी, बालुवा निकासी गर्ने केन्द्र सरकारको कार्यक्रम फिर्ता गर्न चेतावनी दिएका छन् ।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले केन्द्र सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा समावेश भएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन भनेका हुन् । यो कार्यक्रम नहटाए प्रदेश २ ले चुरे संरक्षणका लागि आवश्यक निर्णय लिने चेतावनीसमेत राउतले दिए ।
‘नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन आग्रह गर्नुको साथै यस्तो कार्य तत्काल नरोकिए तराई मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ’, विज्ञप्तिमा भनिएको छ ।
चुरे दोहनले तराईको बासस्थान गुम्ने उनको भनाइ छ । देशकै अन्न भण्डारको रुपमा रहेको तराई मरुभूमी हुने भन्दै सरकारलाई सचेत गराएका छन् । उनले यो निर्णयले जनताको बिल्लीबाठ हुने निश्चित भएको भन्दै विरोध जनाएका हुन् ।
‘चुरे क्षेत्रको माटो एकदमै कमजोर छ । चुरे दोहनले सबै प्राकृतिक सम्पदाले आफ्नो बासस्थान गुमाउने निश्चित छ,’ राउतले सार्वजनिक गरेको विज्ञप्तिमा भनेका छन्, ‘सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश नम्बर २ बाट ढुंगा, गिटी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारका रूपमा रहेको भू–भाग मरूभूमिकरण भई शतप्रतिशत जनताको विल्लीबाठ हुने निश्चित छ ।’
प्रदेश २ लाई मरुभूमीकरणबाट जोगाउने कार्यमा प्रदेश सरकार सजग रहेको उनको भनाइ छ । ‘वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहान संरक्षको साथै प्रदेश २ लाई मरुभूमिकरण हुनबाट जोगाउने कार्यप्रति प्रदेश सरकार सजग छ’, विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया