काठमाडौं, ५ माघ । मुसहरको पीडामा धुर्मुस–सुन्तलीले मलम लगाए, धुर्मुस–सुन्तलीको अभियानमा मुसहरले साथ दिउँ भन्ने नारासहित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा मुसहर समुदायबाट सहयोग सङ्कलन अभियान शुरु भएको छ ।
भोर, अनुसन्धानमा आधारित अभियानी तथा परोपकारी संस्थाको पहलमा मुसहर समुदायबाट सहयोग संकलन अभियान शुरु गरिएको छ ।
माघ १ गते विश्वभरका मुसहर समुदायले मनाउने भुईया महराजको पुजा अर्थात अन्तरराष्ट्रिय भुईया दिवसको दिन पारेर मुसहर समुदायका युवाहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा मुसहर समुदायबाट सहयोग संकलन अभियानको शुभारम्भ गरेको छ ।
उक्त आर्थिक सहयोग संकलन अभियान नेपालमा देशभरि तथा भारत र विदेशमा रहेका मुसहर समुदायका आम जनमानस माझ माघ महिनाभरि संचालन गरिनेछ ।
नेपालमा ३२ जिल्लामा १२ लाख मुसहर समुदायको बसोबास रहेको छ । मोरङ्ग देखि नवलपरासी सम्म १५ जिल्लामा मुसहर समुदायको बाक्लो जनसंख्या रहेको छ ।
माघ महिना भरी आर्थिक सहयोग संकलन अभियान संचालन गरेर फागुन महिनामा चितवनको क्रिकेट रंगशाला निर्माण स्थलमा मुसहर समुदायका युवा र अगुवा सहितको प्रतिनिधि गएर संकलित सहयोग रकम धुर्मुस–सुन्तलीलाई हस्तान्तरण गर्ने योजना रहेको भोरको अध्यक्ष पचुलाल माझी मुसहरले जानए ।
माघ १ गते प्रदेश २ को धनुषाधाम नगरपालिका, मुगराहामा आयोजित दोश्रो अन्तर्राष्ट्रिय भुंईया दिवस स्थलबाट आर्थिक सहयोग संकलन अभियान शुरु गरिएको छ ।
पहिलो दिनको उक्त स्थलबाट उपस्थित मुसहर आम जनसमुदायले ३५०० रुपैया संकलन गरेको छ, भोरको कोषाध्यक्ष उमेश कुमार साहले जानकारी दिए । सिरहा जिल्ला निवासी राम स्वरुप माझीले ५०० रुपैया प्रदान गरी धनुषाधामबाट आर्थिक सहयोग संकलन अभियान शुरु गरेका हुन् ।
अब उक्त आर्थिक सहयोग संकलन अभियान मुसहर समुदायको बसोबास रहेको प्रत्येक बस्तीमा तथा विदेशमा कार्यरत मुसहर समुदाय माझ क्रमशः लगिनेछ, भोरको महासचिव सरोज प्रसाद दुलालले जानए ।
शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानका प्रादेशिक र जिल्ला संयोजकहरु र मुसहर समुदायकै अन्य संघ संस्थाको सहकार्यमा सो आर्थिक सहयोग संकलन अभियान देश भरका प्रत्येक मुसहर बस्तीमा लगिनेछ, रौतहट जिल्लाका अनुप माझीले बताए ।
नेपालमा मात्र होइन, विश्वमै सबै भन्दा गरिब समुदायको रुपमा रहेको मुसहरबाट गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोगको तात्विक र सांकेतिक महत्व रहेको छ ।
चरम गरिबी, रोग, भोक, शोक, अशिक्षा र अभावमा जीवन जिउन बाध्य मुसहर समुदायबाट निकै ठुलो परिमाणमा रकम संकलन नहुन सक्ला तर यसले देश विदेशका सम्पन्न र अन्य समुदाय तथा बृहत सरोकारवालाहरुलाई निकै ठुलो संदेश दिने विश्वास भोरका संस्थापक तथा यस आर्थिक सहयोग संकलन अभियानको पहलकर्ता राज कुमार महतोले बताए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन बहुउद्देश्यीय रङ्गशाला हो । यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गर्देछ ।
फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो ।
धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१५, रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा आर्थिक सहयोगको निकै आवश्यकता रहेको छ ।
जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण नेपाल र नेपालीको गौरवको योजना रहेकोले चरम गरिबीमा रहे तापनि देशका मुसहर समुदायले आफनो योगदान दिन आवश्यक रहेको सर्लाही चन्द्रनगर गांउपालिकाका लथिहन माझीले बताए ।
मुसहर समुदायले सहयोग लिन मात्र होइन, आवश्यकता रहेको पवित्र काममा आफनो क्षमता अनुसारको सहयोग दिन पनि जानेकोछ मुसहर समुदायले, यस आर्थिक सहयोग संकलन अभियानले सकारात्मक संदेश दिनेछ, सर्लाही पोखरीयाका श्याम माझीले आफनो भावना व्यक्त गरे ।
तपाईको प्रतिक्रिया