काठमाडौं, ११ चैत । नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहित मनाउने गरिएको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्येनजर गरि यस वर्षको सो समारोह स्थगित गरिएको छ ।
नेपाली सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सीमित व्यक्तिहरुको उपस्थितिमा आयोजना गर्ने योजना गरिए तापनि यस वर्षको घोडेजात्रा समारोह कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि नेपाल सरकारद्वारा चैत १० गते सो को रोकथाम र निर्मुल गर्न लिइएको निर्णय बमोजिम सो समारोह स्थगित गरिएको छ ।
साथै राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश लगायत घोडेजात्राको प्रारम्भिक अभ्यासको दौरान छायाँकन गरिएको गतिविधि समेटी तयार गरिएको कार्यक्रम नेपाल टेलिभिजनबाट ३ बजेको समाचारपछि प्रशारण गर्न मिलाइएको जनाइएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा समेत फैलिन सक्ने परिस्थितिलाई दृष्टिगत गरि उक्त भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट हरसम्भव प्रयासहरु भइरहेको परिप्रेक्षमा सम्भावित प्रतिकूल परिस्थितिमा संक्रमण नियन्त्रण तथा बिरामीको उपचारको लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न समेत नेपाली सेना प्रतिवद्ध रहेको छ ।
तपाईको प्रतिक्रिया