काठमाडौं, १५ फागुन । नेकपा (माले) का महासचिव सिपी मैनाली चढेको जिप महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ । महोत्तरीको बर्दिबासस्थित रातु खोलाको पुलमा उनी सवार जिप दुर्घटनामा परेको हो ।
मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आएको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले एक आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
जिप दुर्घटनामा मैनालीसहित उनका छोरा, बुहारी, नाति र चालकसमेत गरी पाँचजना घाइते भएका छन् । उनीहरु सबैको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार दुर्घटनामा परेका मैनालीको अवस्था खतरामुक्त छ । उनको एउटा खुट्टा भाँचिएको छ भने टाउकोमा चोट लागेको छ ।
तपाईको प्रतिक्रिया