काठमाडौं, ६ असोज । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सञ्चालन अनिश्चित बनेको छ । नाकामा काम गर्ने नेपाली मजदुरलाई कोरोना संक्रमण भएपछि बन्द भएको नाका सञ्चालन गर्न चीनले चासो दिएको छ ।
एकतर्फी नाका सञ्चालन गरेको चीनले मजदुरलाई कोरोना देखिएको भन्दै तीन सातादेखि नाका बन्द गरेको हो । नियमित नाका सञ्चालन नहुँदा केरुङमा एक वर्षदेखि सामान रोकिएर व्यापारीहरू मर्कामा परेका छन् ।
चाडबाडका मुखमा समेत नाका सञ्चालनका लागि सरकारी तहबाट उचित पहल नहुनु दुःखद रहेको व्यापारीहरूको गुनासो छ ।
कोरोना भाइरसका कारण १५ माघदेखि २७ असारसम्म नाका बन्द गरिएको थियो । त्यसयता पनि नाकामा नियमित कारोबार हुन सकेको छैन । कोरोना भाइरसका कारण पटक–पटक नाका बन्द हुँदै आएको छ ।
भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो, तर रसुवागढी नाका २०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मंसिरदेखि हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया