चीनको एकतर्फी नाकाबन्दी विरुद्ध धर्नामा बस्ने नेपाली व्यवसायीको चेतावनी

समाचार

11/11/2020

काठमाडौं, २६ कार्तिक । चीनले एकतर्फी रुपमा सीमा बन्द गरेका कारण भएको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले दश महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु सहज रुपमा नेपाल भित्रन नसकेको र सरकारले समेत पहल नगरेको भन्दै नाका सहज बनाउन सरकारसँग माग समेत गरेका छन् ।

संघका अध्यक्ष नरेश कटुवालले जारी गरेको विज्ञप्तिमा नाकामा देखिएका समस्या समाधानका लागि सरकारसँग पटकपटक आग्रह गरे पनि समस्या समाधान नभएको बताएका छन् ।

परराष्ट्रमन्त्री, प्रतिपक्षी दलका नेता लगाएतका सबै शिर्ष नेताहरुलाई समस्याका बारेमा जानकारी गराएपछि केरुङ, तातोपानी नाका खुला गरिएको भएपनि अहिले समेत मालवस्तुहरु सहज रुपमा नेपाल भित्रन नसकेको महासंघले जनाएको छ ।

सीमा नाकामा अत्यधिक भाडा वृद्धि र सिण्डिकेट समेतको अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन हामी सरकारलाई आग्रह गर्दै समस्या समाधान नभए नाकामै धर्ना बस्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘कुटनीतिक पहलबाट नाका सहज बनाउन सरकार समक्ष विनम्र अनुरोध गर्न चाहन्छौं । यदि यि समस्याहरु समाधान नहुने हो भने महासंघमा आवद्ध उद्योगी–व्यवसायीहरु नाकामै गएर धर्ना बस्न बाध्य हुने चेतावनी समेत दिन चाहान्छौं ।’

कोरोनाका कारण देखाउँदै चीनले नेपालसँगको सिमानाका बन्द गरेका कारण १० महिनादेखि नेपाली व्यवसायीहरुको सामान चिनिया नाकामै रोकिएको व्यवयासीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ