काठमाडौँ, ७ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनतर्फको व्यापारमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताएका छन् ।
चीनले एक वर्षदेखि स्थलमार्गबाट हुने आयात–निर्यात रोकेको भन्दै मन्त्री भट्टले चीनसँगको व्यापारमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।
कोभिड–१९ लाई कारण देखाउँदै चीनले एक वर्षदेखि रसुवा र तातोपानी नाका आंशिक र एकतर्फी मात्रै सञ्चालन गर्दै आएको छ। सोही कारण उनले ‘चीनसँग व्यापार नै गर्ने कि नगर्ने’ भनेर पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।
चीनले दुवै नाकाबाट दैनिक ४–५ कन्टेनर सामग्री मात्रै छाड्दै आएको छ । निर्यात भने पूर्ण रूपमा रोकेको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टले चीनसँग जोडिएका नाकाबाट एक वर्षदेखि आयात आंशिक मात्रै हुन सकेको र निर्यात पूर्ण रूपमा रोकिएकोप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।
‘चीनले कोभिड र विभिन्न बहानामा एक वर्षदेखि व्यापार रोक्दा त्यसको मार जनतासम्ममै पुगेको छ,’ उनले भने, ‘हाम्रो छिमेकीको व्यवहारले असहज र अप्ठ्यारो भएको छ, अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन् ।’ त्यसैले अब ‘चीनसँग व्यापार गर्ने कि नगर्ने ?’ भनेर पुनर्विचार गर्नुपर्ने अवस्था आएको उनले बताए ।
तपाईको प्रतिक्रिया