काठमाडौं, १६ बैशाख । सरकारले कोरोनाभाइरस (कोभिड(१९) को परीक्षणका लागि चीनबाट खरिद गरेर ल्याएको पोर्टेबल पिसिआर मेसिन प्रभावकारी नभएपछि थन्किएको छ ।
दैनिक १२ वटा नमूना परीक्षण गर्न पनि मुस्किल भएपछि अधिकांश प्रयोगशालाले यो मेसिनबाट परीक्षण गर्ने काम रोकेका छन् । सरकारले चीनबाट प्रति मेसिन २१ लाख खर्चेर पाँचवटा पोर्टेबल पिसिआर मेसिन ल्याएको हो ।
सरकारले यो मेसिन जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा वितरण गरेको छ । यो मेसिनबाट एकचोटीमा एउटा मात्र नमूनाको परीक्षण गर्न मिल्छ र त्यसको नतिजा आउन डेढ घण्टा लाग्छ ।
यसरी परीक्षण गर्दा दिनमा १० वटा नमूनाको परीक्षण हुन्छ । यो मेसिनबाट परीक्षणको चाप धान्न नसक्ने प्रयोगशालामै काम गर्ने स्वास्थ्यकर्मीहरूको ठहर छ ।
जनकपुरमा यो मेसिनबाट अहिलेसम्म सय वटा मात्र नमूनाको परीक्षण गरिएको छ । साथै यो मेसिनको नतिजामा त्रुटी देखिएपछि केही दिनदेखि मेसिनबाट गरिने परीक्षणको काम रोकिएको छ । उक्त मेसिनमा दुईपटक नेगेटिभ देखिएको नतिजा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजेटिभ देखिएपछि मेसिनको गुणस्तरमाथि प्रश्न उठेको हो ।
अहिले चीनबाट ल्याएको पाँचवटै पोर्टेबल पिसिआर मेसिन प्रयोगविहीन जस्तै बनेको छ । सरकारले यो मेसिन ल्याउनुपूर्व देशमै भएका आरटी पिसिआरलाई प्रयोगमा ल्याउनुपर्ने विज्ञहरूको तर्क छ ।
तपाईको प्रतिक्रिया