काठमाडौं, १७ चैत । कोभिड–१९ का कारण चीनबाट नेपाल फर्किएका चिकित्सा शास्त्र अध्ययन गरेकाका विद्यार्थी ‘इन्टर्न’ गर्न नपाएर एक वर्षदेखि अन्यौलमा छन् ।
नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले पाँच वर्ष एमबीबीएस र बीडीएस अध्ययन गरेर ६ देखि ९ महिना उतै ‘इन्टर्न’ गरेकालाई यता ‘इन्टर्न’ गर्न नदिएको उनीहरू बताउँछन् ।
विद्यार्थीका अनुसार उनीहरूको भिसाको समयावधिसमेत सकिएको छ । ती विद्यार्थीले आफूहरूको एक वर्ष खेर गएको भन्दै गत आइतबार काउन्सिलमा धर्ना दिएका थिए ।
इन्टर्नका लागि चीन जाने अवस्था नभएकाले यतै तीनदेखि ६ महिनासम्मको इन्टर्न गर्ने व्यवस्थाका लागि उनीहरुले माग गर्दै आएका छन् । तर पटक–पटक आग्रह गर्दासमेत मेडिकल काउन्सिलले आश्वासनबाहेक अन्य प्रक्रिया अघि नबढाएको उनीहरूको गुनासो छ ।
आन्दोलनमा सहभागी विद्यार्थीले नेपाल मेडिकल काउन्सिलमा दिएको जानकारी अनुसार सन् २०१४ ब्याचका १५२ र २०१५ ब्याचका १०३ जना गरी २५५ विद्यार्थी चीनबाट फर्किएकाले इन्टर्न गर्न पाएका छैनन् ।
ती विद्यार्थीमध्ये करिव ५५ जना विद्यार्थी २०७६ सालको फागुनमा सरकारले नै उद्धार गरेर ल्याइएकाहरू छन् ।
४५ जना विद्यार्थीले नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता परीक्षासमेत उत्तीर्ण गरिसकेका छन् ।
२०१५ ब्याचका विद्यार्थीले भने उता इन्टर्न सुरु गरेका थिएनन् । सोही कारण उनीहरूले पनि नेपालमै इन्टर्न गर्न पाउने माग राखेका छन् ।
तपाईको प्रतिक्रिया