बाह्रबिसे, ७ असार । चिनियाँ कम्पनीको लापरबाहीका कारण सिन्धुपाल्चोकमा विपद् निम्तिएको पाइएको छ । मेलम्ची क्षेत्र तहसनहस पार्ने गरी अचानक आएको बाढीलाई हिमताल विष्फोट भएको आशंका गरिएको भए पनि माथिल्लो भेगमा केही समयअघि नदीको प्रवाह रोकेको र त्यसकै कारण अहिले बाढी आएको निष्कर्षतिर सरकारी निकायहरु पुगेको बताइन्छ ।
अचम्मसँग त्यहाँको बाढीमा लेदो आएको थियो । त्यो कसरी आइपुग्यो भनेर अध्ययन अनुसन्धान भइरहेको छ । तर त्यसको पछाडि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) को लापरबाही रहेको बुझिएको छ ।
त्यतिमात्र हैन सीआरसीसँगै स्थानीय जनप्रनितिनिधिको बेवास्ताका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ स्थित एउटा सिङ्गो बस्ती जोखिममा परेको छ ।
चीन जोड्ने कोदारी सडक निर्माणका क्रममा प्राविधिक विषयलाई बेवास्ता गरी जथाभावी डोजर चलाउने र मापदण्ड विपरीत निर्माण कार्य गर्दा गाउँ जोखिममा परेको हो । जीटूजी सम्झौता अन्तर्गत सडक निर्माण गर्ने जिम्मा सीआरसीसीले पाएको छ । कम्पनीले जथाभावी काम गर्दा वर्षाको समयमा जमीन भासिने र बग्ने समस्या भएको स्थानीयको भनाइ छ । जमीन भासिन थालेपछि गाउँलेहरु विस्थापित नै हुनु परेको छ ।
स्थानीय जनप्रतिनिधिको बेवास्ताको प्रमाण सचेत गरी पठाइएको पत्र र त्यसको कार्यान्वयन नहुनु हो । गत फागुन २६ गते गाउँपालिकामा निवेदन परेको थियो । कोदारी तातोपानी टोल सुधार समितिका अध्यक्ष साङ्गे लामाले निवेदन बुझाएका थिए ।
निवेदनमा लेखिएको थियो ‘यस भोटेकोशी गाउँपालिका २ अन्तर्गतका क्षेत्रमा पर्ने अरनिको राजमार्गमा सीआरसीसी नामक चिचियाँ ठेकेदार कम्पनीले निरन्तर रुपमा लापरवाही गरी गत भूकम्प पश्चात राजमार्ग पुनः निर्माण कार्य शुरु गरेको र गत वर्ष पनि स्थानीयले बारम्बार जानकारी सहित नभत्काउन अनुरोध गर्दा पनि यसै वडाका वडा अध्यक्ष दिपेन्द्रकुर्मा श्रेष्ठले २ महिनाभित्र पक्का वाल लगाउने भनी मौखिक प्रतिवद्धता जनाई झुक्काई पक्का पुरानो वालहरु भन्त्काई राजमार्ग माथिको गाउँहरु जोखिममा हुने गरी कार्य गरेको र गत वर्ष जस्तै फेरि पनि कच्चा ढंगले नयाँ निर्माण कार्य शुरु गर्न लागेको हुँदा सो कार्यको डीपीआर लगायत आवश्यक कानूनी प्रकृया पुर्याई कोदारी सिङ्गाको गाउँलाई जोखिम नहुने गरी कार्य गर्न यस क्षेत्रको सम्पूर्ण स्थानीयवासीको अनुरोधमा तपाई समक्ष यस समितिले नियमानुसार जाँचवुझ गरी पाउँ भनी यो विनम्र निवेदन पेश गर्दछौं ।’
तपाईको प्रतिक्रिया