काठमाडौं, १६ कार्तिक । केरुङ– रसुवागढी नाकामा चीनले १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेको छ । यो नाकाबन्दीको मारमा चीनबाट नेपाल सामान ल्याएर व्यापार गर्ने व्यापारी परेका छन् ।
नेपाली व्यापारीको सामान झण्डै ११ महिनादेखि नाकामा रोकिएको छ । नाकामा रहेको सामानको भाडा, सामान किन्न लिएको ऋणले व्यापारी थलिएका छन् भने उनीहरु हतोत्साही पनि भएका छन् ।
यहीबीचमा एक व्यापारीले आत्महत्या गरेका छन् । ११ महिनादेखि नेपाल–चीन सीमामा सामान रोकिएर व्यापार व्यवसाय ठप्प भएका व्यापारी हरेराम पौडेलले आत्महत्या गरेका छन् ।
उनले आफ्नै काठमाडौँ पेप्सीकोलामा डोरीको पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको यकिन कारण खुलेको छैन । तर लामो समयदेखि व्यापार व्यवसाय ठप्प हुँदा ऋणको बोझ बढेर ज्यान गुमाएको हुनसक्ने अनुमान छ ।
उनले प्रयोग गरेका मोबाइल तथा अन्य उपकरण प्रहरीको फरेन्सिक ल्याबमा छ । त्यसको रिपोर्ट आएपछि यस विषयमा केही भन्न सक्ने प्रहरीको भनाई छ ।
कोभिड–१९ को संक्रमणपछि गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गरेको थियो । चीनको वुहानमा सबैभन्दा पहिले भाइरस देखिएपछि नाका सिल गर्दा तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किएका छन् । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।
तपाईको प्रतिक्रिया