चिनियाँ मुखपत्रमा राजदूत पाण्डेको अन्तर्वार्ता कूटनीतिक अपरिपक्कता

समाचार

10/2/2020

काठमाडौं, १६ असोज । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल–भारत सीमा विषयमा चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाईम्सलाई दिएको अन्तर्वार्ता विवादमा परेको छ ।

नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयमा चिनियाँ सरकारी मुखपत्रलाई विवादित अन्तर्वार्ता दिएर कूटनीतिक अपरिक्कता देखाएको भन्दै राजनीतिक तथा नागरिक तहबाट व्यापक आलोचना भएको छ । कूटनीतिक मर्यादाविपरीत भएको भन्दै विज्ञहरूले त्यसबारे सरकारले स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

पाण्डेले ग्लोबल टाईम्सलाई दिएको अन्तर्वार्तामा पाण्डेले भारतीय सञ्चारमाध्यमले नकारात्मक खबर प्रकाशित गरे पनि नेपाल र चीन सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका थिए । पाण्डे पूर्वपरराष्ट्रमन्त्री पनि हुन् ।

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने हुम्लाको नाम्खामा चिनियाँ पक्षले एक पक्षीय रुपमा ११ वटा भवनहरू बनाएको विषय बाहिर आएको बेला राजदूत पाण्डेले दिएको अन्तर्वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

परराष्ट्रविद् डा. दिनेश भट्टराईले राजदूत पाण्डेको अन्तरवार्ता कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । उनले दुवै छिमेकीसँगको सम्बन्ध महत्वपूर्ण र संवेदनशील रहेको बताउए ।

चीनका लागि नेपाली राजदूतले ग्लोबल टाईम्समा दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कूटनीतिज्ञको मर्यादा विपरित रहेको कांग्रेसका युवा नेता गगन थापाले बताएका छन् । थापाले राजदूतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो होइन भन्ने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस् भनेका छन् ।

कांग्रेसका अर्का नेता उदय शमशेर राणाले सामान्य कूटनीतिक मर्यादालाई उपेक्षा गर्दै राजदूत पाण्डेले हलुका अभिव्यक्ति दिएको बताए । उनले भने, ‘विदेशमा रहेका हाम्रा राजदुतहरुले राष्ट्रिय हितका रुपमा सेवा गर्दै हाम्रो देशको पक्षमा बोल्नुको सट्टा राजदूत भएको देशको पक्षमा बोल्नु कूटनीतिक कौशल होइन । यसले सम्बन्धलाई झन् जटिल बनाउँछ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ