काठमाडौं, ९ असोज । अन्तर्राष्ट्रिय कानुन तथा मान्यताविपरीत चीनले नेपालसँग जोडिएका व्यापारिक नाका बन्द गर्दा झन्डै २० अर्ब रुपैयाँबराबरका सामग्री केरुङ र ल्हासामा अलत्रप परेको छ ।
नेपाल–चीनबीच सञ्चालनमा रहेका रसुवागढी–केरुङ र तातोपानी–खासा नाका अहिले लगभग बन्द अवस्थामा छन् । अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द हुँदा चीन र चीन हुँदै गरिने नेपालको आयात–निर्यात नराम्रोसँग प्रभावित भएको छ ।
११ चैतमा लकडाउन सुरु हुनुभन्दा करिब दुई महिनाअघिदेखि नै नेपाल–चीनका दुवै नाका बन्द अवस्थामा थिए । माघ पहिलो साताबाट बन्द भएका दुवै नाका चैतको अन्तिम साताबाट एकतर्फी रूपमा सञ्चालनमा आएका थिए । तर, कोभिड–१९ को जोखिम र बाढीपहिरोका कारण नाका पूूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
एकतर्फी रूपमा सञ्चालन हुँदै आएको केरुङ नाका १६ भदौदेखि पूर्ण रूपमा बन्द छ भने तातोपानी नाका २५ असारदेखि बन्द छ । चीनले कोभिड–१९ को जोखिम देखाउँदै केरुङ नाका खोलेको छैन ।
तातोपानी नाका भने चीनतर्फ ताल फुट्ने जोखिम रहेको र बाढीपहिरोले बाटो बिगारेको कारण देखाउँदै सञ्चालनमा ल्याइएको छैन । नेपालले दुवै नाका सञ्चालनका लागि आग्रह गर्दै आए पनि चीनले मानेको छैन ।
सम्बन्धित जिल्लाका सिडिओ तथा भन्सार प्रमुखदेखि केन्द्रमा वाणिज्य सचिव र परराष्ट्र सचिवसम्मले नाका पूर्ण रूपमा खोलेर अड्किएका सामान छुटाउन चीनसँग आग्रह गरिरहेका छन् । तर, चीनले कोभिडको जोखिम रहेको भन्दै आलटाल गर्दै आएको छ ।
दुवैतर्फका नाका नखुल्दा नेपाली व्यवसायीले चीनबाट र चीन हुँदै ल्याएका फलफूल, जुत्ता–चप्पल, तयारी पोसाक, मेसिनरी, विद्युतीय सामग्रीलगायत अड्किएको व्यवसायीले बताएका छन् । लामो समयदेखि नाका बन्द हुँदा एकातर्फ नेपालको बजार प्रभावित भएको छ भने अर्कातर्फ विकास निर्माणका कामसमेत रोकिएका छन् ।
अहिले ल्हासा, मेलम र केरुङमा नेपाली व्यवसायीका १५ सयभन्दा बढी कन्टेनर अड्किएको हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए ।
तपाईको प्रतिक्रिया