काठमाडौं, २८ कार्तिक । चीनको सिन्जियानमा रहेका उइगुर मुसलमानमाथि चीन सरकारले गरेको दमन र अत्याचार बन्द गर्नुपर्ने माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
चीनले मुस्लिम धर्म संस्कृतिमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्नुपर्ने, मुसलमानलाई रोजा बस्न या बुर्खा लगाउन दिनुपर्ने लगायतका माग राखी ‘जमियत अलमा नेपाल’ को रोहवरमा विरोध प्रदर्शन गरिएको हो ।
चीन सरकारले मस्जिद लगायत मुस्लिम धर्मको केन्द्रहरु भत्काउने कदम रोक्न, उइगर मुसलमानमाथि अत्याचार बन्द गर्न र मुस्लिम संस्कृतिको बन्द अभिलम्ब फिर्ता गर्न चीनलाई ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरेको अलमा नेपालका सल्लाहकार युनुस हमरले बताए ।
उनले चीनले हिरासतमा रहेका उइगुरहरुरु तत्काल रिहा गर्नुपर्ने पनि बताए । चीनले उइगर मुस्लिमहरूमाथि कैदीलाई जस्तो व्यवहार गरेको भन्दै विश्वभर आलोचना हुने गरेको छ ।
राष्ट्रसङ्घको एक समितिले सिन्जियाङमा करिब दश लाख उइगुर मुस्लिमहरूलाई चीनले थुनामा राखेको बताएको थियो ।
चिनियाँ प्रहरीले सिन्जियाङ प्रान्तमा लाखौँ उइगुर मुस्लिमलाई पूर्णत निगरानीमा राख्ने गरेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचको प्रतिवेदनमा उल्लेख छ ।
यसैको विरोधमा जमियत अलमा नेपालले उइगर मुस्लिमहरूको मानव अधिकार बहाली गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको हो ।
तपाईको प्रतिक्रिया