काठमाडौं, १० जेठ । नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा भारत संविधानका पक्षमा उभिउनु पर्ने बताएका छन् ।
हिन्दुस्तान टाइम्समा प्रकाशित ‘इन काठमान्डु, अ थ्रेट अफ डेमोक्रेसी’ शीर्षकको रेको लेखमा उनले पछिल्लो समय भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही र अलोकप्रिय सरकारको समर्थन गरिरहेको भन्ने धेरैलाई लागेको उल्लेख गरेका छन् ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले ओलीलाई गरेको समर्थनले पनि ओलीलाई नयाँदिल्लीको समर्थन रहेको देखिएको रेले उल्लेख गरेका छन् ।
‘भारतले सधैं नेपालमा बहुदलीय प्रजातन्त्र र प्रगतिशील परिवर्तनलाई सहयोग गर्दै आएको छ तर यसपालि भारतले तानाशाही र अलोकप्रिय शासनलाई सघाइरहेको धारणा बनेको छ,’ रेले लेखेका छन् ।
प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाव हुन कोरोना महामारीका कारणले कठिन रहेकाले चुनाव नभएपछि नेपाल गहिरो संवैधानिक संकट फसने रेको विचार छ ।
‘भारतले सार्वजनिक रूपमा संवैधानिक शासनका पक्षमा उभिएको कुरा राख्नुपर्छ। कुनै एक पक्षीय नभई ओलीदेखि विपक्षी राजनीतिक शक्तिसँग पनि राजनीतिक सम्पर्क जारी राख्नुपर्छ,’ रेले लेखेका छन् ।
तपाईको प्रतिक्रिया