काठमाडौं, २९ मंसिर । उखु किसानहरुको करोडौं रुपैयाँ चिनी मिलका मालिकहरुले बेइमानी गर्न खोज्दा त्यसविरुद्धमा उखु किसानहरुले गरिरहेको संघीय राजधानी केन्द्रित आन्दोलनमा लोक दलले समर्थन जनाएको छ ।
लोक दलका अध्यक्ष कौशलकुमार सिंहले सोमबार विज्ञप्ति जारी गरी पिछडावर्ग समुदायका उखु किसानहरुको बाँकी रकम तत्काल अबिलम्ब भुक्तानी दिलाउन लोक दल सरकारसँग माग गरेका छन् ।
‘चिनी मिलले उखु किसानहरुको भुक्तानी दिन नमान्दा चिनी मिल संचालकहरुको अन्य सम्पतिबाट असुल उपर गरी उखु किसानहरुलाई तत्काल भुक्तानी दिलाउनुको विकल्प नरहेकाले यसतर्फ कदम चाल्न लोक दल सरकारसँग आग्रह समेत गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
गरिब उखु किसानहरुको पसिनाको कमाई अरबपति चिनी मिलका मालिकहरुले बेईमानी गर्दा पनि नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बेईमान चिनी मिल मालिकको पक्षमा उभिनु लज्जाको विषय रहेको अध्यक्ष सिंहले भनेका छन् ।
केही दिन अगाडी संसदीय समितिको बैठकमा उद्योग मन्त्री लेखराज भट्टले चिनी मिल मालिकको पक्षमा बोल्दै उद्योगीलाई कारवाही गर्न नसक्ने बताएका थिए । तसर्थ, उखु किसानहरुसँग उद्योग मन्त्रालयले भुक्तानी दिलाउनेबारे गरेको पटक–पटकको समझौता नक्कली रहेको प्रमाणित हुन्छ ।
उखु किसानहरुको भुक्तानी दिलाउन नसक्ने र बेईमान चिनी उद्योगीको पक्षमा वकालत गर्ने उद्योग मन्त्री भट्ट पनि उत्तिकै जिम्मेवार रहेकोले उद्योग मन्त्री भट्टलाई पनि कारवाहीको दायरमा ल्याउनुपर्ने ठहर लोक दलको रहेको छ ।
त्यस्तै, प्रदेश नं. २ अन्तर्गत रहेका कृषि, उद्योग, व्यापारलाई सहजीकरण गर्न नसक्दा प्रदेश सरकार पनि उत्तिकै दोषी रहेका छन् । प्रदेश सरकारले उखु किसानको भुक्तानीको विषयमा केही गर्न नसक्नु भनेको प्रदेश नं. २ का सरकारले दहीच्यूरे व्यवहार प्रदर्शन गरेको आरोप लोक दलले लगाएको छ ।
प्रदेश २ का अधिकांश उखु किसान आन्दोलनमा रहँदा पनि प्रदेश २ का सरकार आफ्नो जिम्मेवारी बोध नगर्दा सबै केन्द्र सरकारकै टाउकोमा थुपारेर प्रदेश सरकार उम्किन खोजिरहेका छन् ।
अतः चिनी मिलका मालिकहरुले उखु किसानको भुक्तानी समयमा नदिँदा उखु किसानहरु घरवार विहिन बनेका छन् भने ऋणमा समेत डुबेकाले क्षतिपूर्तिसहित अबिलम्ब भुक्तानी दिलाई सरकारले उखु किसानहरुलाई स–सम्मान घर पठाउन र उखु किसानहरुसँग ठगी गरेका चिनी मिलका संचालकहरुलाई ठगी मुद्दामा कारवाही गर्न लोक दलले सरकारसँग माग गरेको छ ।
तपाईको प्रतिक्रिया