चुरे संरक्षणका लागि संघर्षका कार्यक्रम घोषणा

समाचार

12/17/2020

जनकपुरधाम, २ पुस । चुरे तथा वनजंगल संरक्षणमा प्रदेश सरकारले चाँसो नदेखाएको भन्दै विभिन्न माग राख्दै संघर्षका कार्यक्रमको घोषणा गरिएको छ ।

तराइ–मधेशको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको चुरे तथा वन जंगल संरक्षण अभियानले विभिन्‍न माग राख्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । चुरे तथा वन जंगल संरक्षण अभियानले पाँच बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ ।

धनुषामा क्रसर संचालकले ओमप्रकाश भनिने दिलिप महतोलाई हत्या गरेकोले महतोलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने, प्रदेश २ का उद्योग मन्त्रालयले क्रसर उद्योगहरुको लाइसेन्स दिएकोमा त्यसको छानविन गरि मापदण्ड विपरित रहेका क्रसर उद्योग एवं मापदण्ड विपरित भईरहेको उत्खनन तत्काल बन्द गर्नुपर्ने, साविक बुटेन कित्ता नम्बर २००, २०२, २०६ हाल ६८२, ६८३, ६८४, ६७९, ६७८, ६८०, ६८१, ६८७, ६८८ र ६८९ को जग्गाधनी सिरहा जिल्लाको मारुती सिमेन्ट उद्योगको सञ्चालक अनुज राठी र मनोज गोयलको नाममा रहेको जग्गा वदर गरि पुनः वनको नाममा फिर्ता ल्याइनुपर्ने, रौतहट जिल्लाको विजयपुर नगरपालिकामा सागरनाथ वन विकास परियोजनाको २ सय हेक्टर र विपि पुष्पलाल सामुदायिक वन रौतहटको १ सय हेक्टर अतिक्रमित जग्गा पुनः वनको नाममा फिर्ता गनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरिएको अभियानका संयोजक सुनिल कुमार यादवले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

चुरे तथा वन जंगल संरक्षण अभियानले विभिन्न मितिमा संर्घषका कार्यक्रमहरु घोषणा गरेको छ । जस अनुसार पुस ७ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी विरोध प्रदर्शन तथा धर्ना दिने, पुस ८ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विरोधमा मन्त्रालय अगाडी विरोध प्रदर्शन तथा धर्ना दिने, पुस १२ गते प्रदेशका आठै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन, धर्ना तथा ज्ञापनपत्र बुझाइने, पुस १७ गते सिरहा जिल्लाको चोहर्वामा र १८ गते रौतहटको गौरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ