छात्रावास निर्माणमा भारतीय दूतावासको चासो

समाचार

10/7/2020

काठमाडौं,२१ असोज । सप्तरीको राजविराजस्थित श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको छात्रावास (गल्र्स होस्टल) हालसम्म किन सुचारु भएन भन्नेबारे जिल्ला समन्वय समिति सप्तरीसँग नेपालस्थित भारतीय दूतावासले जानकारी माग गरेको छ ।

सन् २००४ मा भारतीय दूतावास र जिल्ला समन्वय समितिबीच छात्रावास निर्माणसम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार छात्रावास निर्माणका लागि दूतावासले एक करोड ९६ लाख ४५ हजार ५३२ रुपैयाँ भुक्तानी गरिसकेको छ तर हालसम्म छात्रावास सञ्चालन हुन सकेको छैन ।

दूतावासले जिल्ला समन्वय समितिलाई पत्र पठाएर परियोजनाको स्थितिबारे छिटोभन्दा छिटो जानकारी गराउन आग्रह गरेको छ । निर्माण भएको छात्रावासको हालको अवस्था खुल्नेगरी तस्वीर र छात्रावास निर्माणको खर्च विवरण माग गरेको छ ।

दूतावासले पठाएको पत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, जनता समाजवादी पार्टी नेपालकी नेतृ एवं प्रतिनिधि सभाका सदस्य रेणु यादवलाई पनि पठाइएको छ । परियोजना निर्माणमा अनियमितता भएको आशंकामा स्थानीयस्तरमा विभिन्न प्रश्न उठेपछि दूतावासले जानकारी मागेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ