मोरङ, २८ मंसिर । कोरोना महामारीसंगै भारतसंग बन्द अवस्थामा रहेको अन्तराष्ट्रिय सीमा खोल्नका लागि विरोध सुरु भएको छ । कोरोना महामारीसंगै गतवर्ष चैत्रबाट बन्द गरिएको विराटनगर जोगबनी नाका खोल्नका लागि समूह बनाएर स्थानीय धर्नामा उत्रिएका छन् ।
स्थानीयले नेपाल भारतसीमा संवाद समूह बनाएर हाल विराटनगर जोगबनीको मुख्यद्धारमा घर्ना दिइरहेका छन् । अन्तराष्ट्रिय हवाईमार्ग खुल्ला भइसकेको अवस्थामा सर्वसाधारणलाई थलमार्ग बन्द गरिनुको औचित्य नभएको उनीहरुको भनाइ छ ।
मुख्य नाका बन्द भएपनि छोटीनाकातर्फको बन्द प्रभावहीन हुदै गएको उनीहरुले बताएका छन् । धर्नामा रहेका उमेश यादव सरकारले अझैपनि सीमा एकतर्फी रुप बन्द गर्नुको औचित्य नभएको बताउँछन् ।
कोरोना महामारी नियन्त्रणका लागि बन्द गरिएको भएपनि हाल सो बन्द मात्र औपचारिकता पुरा गर्नेतर्फ केन्द्रित भएको उनको भनाई छ । अहिलेपनि सयौंको संख्यामा सर्वसाधारणहरुले मुख्यनाकाको विकल्पमा अन्यत्रबाट भारत आउजाउ गरिरहेको उनीहरुको भनाइ छ ।
त्यसैगरी, नेपाल भारत सीमा संवाद समुहक कन्हैयालाल साहले मुख्य नाका बन्द गरेपनि अन्यत्रबाट तस्करी र सर्वसाधारणको प्रवेश भइरहेको बताए । मंसिर १९ गतेबाट सुरु गरिएको सीमा खुलाउन धर्ना कार्यक्रम दैनिक ३ देखि ४ बजेसम्म हुदै आएको छ ।
सुरुमा धर्ना कार्यक्रममा विराटनगरमा सीमित भएको भएपनि हाल अन्य सीमा नोचा, डाइनिया, सिक्टी लगायतमा पनि सुरु भएको समूहका मोरङ संयोजक साहको भनाई छ ।
तपाईको प्रतिक्रिया