जनकपुरधाम, २ कात्तिक । धनुषामा ३ सय ५० हेक्टर जग्गामा सिंचाई आयोजनाको शिलान्यास गरिएको छ । जिल्लाको नगराईन नगरपालिका वडा नं. २ स्थित जटहीमा शनिबार ३ सय ५० हेक्टर जग्गामा पिपरामोईन सिंचाई आयोजनाको शिलान्यास गरिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जनकपुरधामद्वारा निर्माण हुने सो सिंचाई आयोजनाको शिलान्यास धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो र प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा गरेका छन् ।
यस आयोजनाले नगराईन नगरपालिकाको जटहीसहितका करिब ५ सयभन्दा बढी घर परिवारका गरी कुल २ हजार ८ सय जनता प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । योजनापछि धान, गहुँ, तेलहन बाली उत्पादनमा बृद्वि हुने सिंचाई विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुख वरिष्ठ इन्जिनियर भगवान झाले बताए । उनका अनुसार यस आयोजनाको पानीको मुहान पेरेनियल अर्थात वर्षभरि नै पानी रहने किसिमको हुनेछ ।
२२ मिटर लम्बाईको पर्मानेन्ट वेइर स्ट्रक्चरसहित २ किलोमिटर लम्बाईको मुल नहरसहित निर्माण हुन लागेको योजना आगामी आर्थिक वर्ष २०७९÷०८० भित्र सम्पन्न हुने उनले बताए । यो आयोजना करिब ११ करोड रुपैयाँको रहेको छ ।
तपाईको प्रतिक्रिया