जनकपुरधाम, ३ साउन । जनकपुर–जयनगर रेल्वे खण्डको आइतबार ट्रयाकको परीक्षण गरिएको छ । भारतीय रेलमार्फत् लिक बनाएको दुई वर्षपछि ट्रयाकको परीक्षण गरिएको हो ।
भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रुटमा भारतीय रेलबाट ट्रयाकको परीक्षण गरिएको छ । एउटा एसी कोचसहित भारतीय रेलले ट्य्राकको गति–क्षमता परीक्षण गरेको हो ।
ट्रयाक परीक्षण गर्दा १२० किलोमिटर प्रति घण्टा दौड्ने भनिएपनि रेलको गति कम रहेको थियो ।
ट्रयाक परीक्षण सफल भएको रेल्बे साइट इन्जिनियर बिनोल ओझाले बताए । ‘टेक्निकली ट्रयाक ठीक छ । अब रेल गुडाउन सकिन्छ’ उनले भने ।
नेपाल सरकारले गत बर्ष रु ८४ करोड ६५ लाखमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ । रेल कहिले संचालनमा आउने भन्ने कुराको यकीन हुन सकेको छैन् ।
भारतीय सरकारले जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरमा ब्रोडगेज लिंक बनाएको दुई वर्ष भइसक्यो । भारत सरकारकै सहयोगमा कुर्थादेखि बर्दिवाससम्म ब्रोडगेज लिंकको निर्माण कार्य जारी छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले रेल सञ्चालनपूर्वको तयारीका क्रममा रेल्वे ट्य्राकको स्पिड टेस्ट र सर्टिफिकेसनको काम आइतबार गरिएको बताए । उनका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा गति परीक्षण गरिएको हो ।
तपाईको प्रतिक्रिया