जनकपुर–जयनगर रेल चलाउन भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव

समाचार

1/10/2021

काठमाडौं, २६ पुस । भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ ।

नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपालले माग गरे अनुसारको तत्काल आवश्यक पर्ने प्राविधिक कर्मचारीको आपूर्तिका साथै रेल सञ्चालनको समग्र व्यवस्थापनका लागि सो कर्पोरेसनले प्रस्ताव गरेको जानकारी दिए ।

‘‘रेल्वे कम्पनीलाई प्राप्त भएको भारतीय प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकिएको छ, अहिले प्रस्तावमाथि मन्त्रालय स्तरीय छलफल भइरहेको छ’’ महाप्रबन्धक भट्टराईले स्पष्ट पारे ।

उक्त प्रस्तावमाथि छलफल गरी अन्तिम स्वीकृतिका लागि यसै हप्ता मन्त्रिपरिषदमा पेस गरिने उनको भनाई छ ।

भारतको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न रेल्वे कम्पनीको सञ्चालक समितिले समेत निर्णय गरिसकेको उनले जनाए ।

नेपाल पठाउनका लागि रेल्वे कर्मचारी तयारी अवस्थामा राखिएको जनाइएको छ । मन्त्रिपरिषद्को स्वीकृति प्राप्त हुने बित्तिकै भारतसँग सम्झौता गरी त्यहाँका कर्मचारी बोलाएर कर्मचारीलाई तालिम दिने योजना छ ।

उनले थपे, ‘‘करिब दुई हप्ता तालिमको काम हुन्छ र त्यसपछि उक्त रेल सेवाको विधिवत् रूपमा उद्घाटन गरिनेछ ।’’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ