जनकपुरधाममा अक्सिजन उद्योग सञ्चालन गरिने

समाचार

5/20/2021

जनकपुरधाम, ६ जेठ । धनुषामा अक्सिजन अभाव भइरहेका बेला थप एक उद्योग सञ्चालन गरिने भएको छ । कोरोनाको दोस्रो लहर तीव्र रूपमा धनुषामा फैलिरहेका बेला एउटा उद्योगबाट मात्रै उत्पादित अक्सिजनले धान्न नसकेको अवस्था छ ।

अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेको तथा अस्पतालले बिरामीलाई घर पठाउन थालेको बेला जनकपुरधाममा थप एक अक्सिजन उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याइने भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२३ विन्दहीस्थित बेलामा रहेको श्रीराम जानकी ग्यास उद्योगले २ साताभित्रै अक्सिजन उत्पादन गर्ने जनाएको छ ।

अक्सिजन उत्पादनका लागि सो उद्योगमा अहिले मेसिन जडान गर्ने कार्य भइरहेको उद्योग सञ्चालक विजयकुमार साहले बताए । उनले मेसिन जडान गर्ने कार्य ७५ प्रतिशत पूरा भइसकेको तथा पाइपलाइन जडान गर्ने कार्य सम्पन्न भएलगत्तै अक्सिजन उत्पादन गरिने जानकारी दिए ।

साहले पछिल्लो वर्ष अप्रिल महिनामा अक्सिजन उत्पादन गर्ने मेसिन ल्याउने योजना भएपनि कोरोना महामारीकै कारण ल्याउन नसकिएको बताए ।

अक्सिजन उत्पादन गर्ने सबै मेसिन जडान भइसकेको र अक्सिजन फिलिङ गर्ने पाइपलाइनको काम सम्पन्न हुन अझै १० दिन लाग्ने पुरुषोत्तम शर्माले बताए ।

अक्सिजन उत्पादन गर्न आवश्यक रहेको एयर कम्प्रेसर, मोइस्चर सेप्रेसन, एयर फिल्टर, कार्बन फिल्टर, अमोनिया फिल्टर, एयर सेप्रेसन युनिट, फिलिङ युनिटलगायत यन्त्र जडान भइसकेको छ ।

श्रीरामजानकी ग्यास उद्योगका सञ्चालक साहले मेसिन जडान भइसकेपछि २४ घण्टामा ५ सयसम्म ठूलो अक्सिजन सिलिन्डर फिल गर्ने क्षमता रहेको बताए । उनले तत्काल २ सय सिलिन्डर अक्सिजन फिलिङ गर्न सके पनि आफूहरूका लागि सफलता हुने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ