जनकपुरधाम, ३ असार । प्रदेश २ सरकारले अस्थायी राजधानी जनकपुरधाममा एक सय सैय्याको विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
जनकपुरधामको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी र समाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रुपमा एक कार्यक्रमबीच बिहीबार उद्घाटन गरेका छन् ।
विगत १ वर्ष अघिदेखि नै उक्त भवनमा कोभिड विशेष अस्पताल सञ्चालन गर्न प्रयास गरिए पनि विभिन्न अवरोधहरुका बाबजुद सञ्चालनमा ल्याउन सकिएको हो ।
अस्पतालको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरु पनि छिट्टै शुरु गर्ने बताएका हुन् ।
शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएका मणिपालले दशकौं बितिसक्दासमेत अस्पताल सञ्चालन गर्न नसकेकाले उनको लिज खारेजी गराई उक्त जग्गा प्रतिष्ठान मातहत ल्याउने पहल शुरु भइसकेको जानकारी समेत गराएका हुन् ।
उनले भने, ‘यस भवनमा कोरोना संक्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवासमेत चाँडै शुरु हु्न्छ । जग्गा प्राप्तिको प्रक्रिया चाँडै शुरु गर्छौ, राज्यको अर्बौंको सम्पति कुनै संस्थाले यसरी राख्न पाउदैन ।’
कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश सरकारको गौरबको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गरेका छन् ।
स्थापनाको छोटो समयमै ४ विधामा शिक्षणको अनुमति प्राप्त गरेको प्रष्ठिानले यसै शैक्षिक सत्र देखी विपिएच, बिएन, विएमएलटी लगायतको अध्यापन शुरु गर्ने भएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरु, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं चिकित्सकसहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया